धादिङ, मलेखु । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोला र तिङराङखानीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग पुनः अवरुद्ध भएको छ। शुक्रबार बिहान करिब १० बजेबाट खसेको ठूलो परिमाणको माटो र ढुंगाले सडक पूर्ण रूपमा अबरुद्ध बनेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार, सडक खुलाउने प्रयास जारी छ। पहिरोका कारण दुवै तर्फका सवारी आवागमन रोकिएको छ भने सडकमा हजारौँ सवारी साधन अलपत्र परेका छन्।
दसैँको अवसरमा घर फर्किने यात्रुको चाप बढिरहेको बेला राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन्। रोकिएका सवारी साधनलाई सम्भावित जोखिमबाट जोगाउन सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन्।
यात्रुहरूलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। अवरुद्ध स्थान नजिकै मात्र नभई अन्य स्थानहरूमा पनि पहिरोको जोखिम उच्च रहेको ट्राफिक प्रहरीले जनाएको छ।
यसअघि सोमबार राति पनि जवाङखोलामा सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग १७ घण्टा अबरुद्ध भएको थियो। बुधबार बेलुका खसेको अर्को पहिरो बिहीबार बिहान हटाएर सडक सञ्चालनमा ल्याइएको थियो।
प्रतिक्रिया