काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे र भुटानी शरणार्थी प्रकरणमा संलग्न बेचन झा पुनः कारागार फर्किएका छन्।
कारागार प्रशासनका अनुसार पाण्डे मंगलबार साँझ आफैं कारागार पुगेका हुन्। सोही साँझ नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पनि कारागार फर्किएका थिए। बुधबार भने बेचन झा आफैं कारागार पुगेका हुन्।
यसअघि मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भुटानी शरणार्थी प्रकरणमा संलग्न केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरी कारागारमा बुझाएको थियो। नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि केही दिनअघि आफैं कारागार फर्किएका थिए।
२४ भदौमा जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागार तोडफोड हुँदा पाण्डे, झा लगायत करिब ३३ सय कैदीबन्दी फरार भएका थिए।
प्रतिक्रिया