काठमाडौं – महाराजगञ्जमा भदौ २४ गते भएको प्रहरी हत्याको घटनामा संलग्न भएको आरोपमा थप एक व्यक्ति पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक निवासी ओम पौडेललाई मंगलबार पक्राउ गरेको हो। यसअघि, घटनामा संलग्न काभ्रेका युवराज क्यापछाकीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
प्रहरीका अनुसार, जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारी समूहले प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए।
दुवै आरोपीविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रदर्शनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको तस्बिर र भिडियो विश्लेषण गरी पहिचान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रतिक्रिया