काठमाडौं । नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएको भन्दै प्रा.डा. वीणा पौड्याललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गरिने भएको छ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै पौड्याललाई सम्मान गर्ने निर्णय गरेको जनाएको छ। प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाका अनुसार सम्मानको रूपमा प्रा.डा. पौड्याललाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ।
पौड्याल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इतिहास, संस्कृत तथा पुरातत्व केन्द्रीय विभागकी पूर्व विभागीय प्रमुख तथा अवकाशप्राप्त प्राध्यापक हुन्। उनले नेपाली संस्कृति र इतिहाससम्बन्धी करिब दुई दर्जन पुस्तक प्रकाशित गरिसकेकी छन्।
सम्मान प्रदान गर्ने मिति र स्थानबारे भने प्रतिष्ठानले पछि सार्वजनिक गर्ने जनाएको छ।
प्रतिक्रिया