काठमाडौं – तुइन खोलानजिक गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन कम्तीमा दुई दिनभन्दा बढी लाग्ने भएको छ। यद्यपि, सडक विभागले पहिरो पन्छाउन दुई दिन लाग्ने अनुमान गरे पनि त्यसमा अझ धेरै समय लाग्ने स्रोतले जनाएको छ।
स्रोतका अनुसार ठूला ढुंगासहित खसेको माटोले सडक धसिएको र पहिरो तलसम्म गएको हुँदा दुई दिनमा सडक खुल्ने सम्भावना निकै कम रहेको छ।
“ठूलो पहिरो छ, दुई दिनमा हटाउन सकिने देखिँदैन,” स्रोतले जानकारी दियो, “दुई दिनभन्दा धेरै लाग्ने निश्चित छ।”
हिजो दिउँसो गएको पहिरोका कारण उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरोको परिमाण करिब १२ देखि १४ हजार घनमिटर रहेको छ।
डिभिजन कार्यालयले यात्रु तथा सवारीधनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। पछिल्ला केही महिनादेखि लगातार पहिरो जाँदै आएको यस सडकखण्डमा यात्रुले बारम्बार समस्या झेल्नुपरेको छ।
प्रतिक्रिया