चितवन — मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिक मंगलबार अपराह्न ठूलो पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अपराह्न ४:५५ बजे ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा रोकिएको हो।
डिभिजनले निरन्तर पहिरो खसिरहेकाले पन्छाउने काममा समस्या भइरहेको र यात्रुलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ।
मंगलबार दिउँसो १ बजेदेखि नै पहिरोका कारण सडक अवरुद्ध थियो। अपराह्न फेरि थप पहिरो खस्दा सडक सञ्चालन असम्भव भएको हो। गत शुक्रबार असोज ३ गते पनि यही स्थानमा पहिरो खसेर झन्डै ४५ घण्टा सडक बन्द भएको थियो।
लगातार खसिरहेको सुक्खा पहिरोका कारण सडक सञ्चालनमा समस्या देखिँदा दसैँ मनाउन घर फर्किरहेका हजारौँ यात्रु मर्कामा परेका छन्।
प्रतिक्रिया