Logo

अर्थ

पहिलो दुई महिनामा आयात र निर्यात दुबै बढे, व्यापार घाटा अझै उच्च



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ)मा नेपालले आयात र निर्यात दुबैमा उल्लेख्य वृद्धि गरेको छ। भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.२३ प्रतिशत र निर्यात ८८.५७ प्रतिशत बढेको हो।

यस अवधिमा तीन खर्ब पाँच अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ भने ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रुपैयाँको वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँको आयात र २५ अर्ब ९ करोड रुपैयाँको निर्यात भएको थियो।

निर्यात बढे पनि व्यापार घाटा अझै उच्च नै छ। गत वर्षको पहिलो दुई महिनामा दुई खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँको घाटा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा दुई खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जुन ८.५९ प्रतिशतले बढेको हो।

भन्सार विभागका अनुसार समग्र वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढेको छ। गत वर्षको दुई खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार बढेर तीन खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

निर्यात बढेसँगै आयात–निर्यात अनुपातमा सुधार देखिएको छ। गत वर्ष १०.४६ गुणा रहेको अनुपात यस वर्ष घटेर ६.४५ गुणामा झरेको छ। यस अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ८.७२ प्रतिशतबाट बढेर १३.४२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ९१.२८ प्रतिशतबाट घटेर ८६.५८ प्रतिशतमा झरेको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ४ : ५७ बजे