Logo

समाचार

नवरात्र नजिकिएसँगै काठमाडौं उपत्यकाका शक्तिपीठ सिँगारिँदै



काठमाडौं – नवरात्र सुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठहरू सिँगारिएका छन्। नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी र चामुण्डामाईलगायतका मन्दिरहरू झिलिमिली बत्ती र सजावटसहित तयारी अवस्थामा छन्।

मन्दिर क्षेत्रहरूमा करिब एक साताअघिदेखि सिँगार्ने काम भइरहेको हो। मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष तथा काठमाडौं महानगर–३० का वडाध्यक्ष दलबहादुर कार्कीका अनुसार नवरात्रको तयारी पूरा भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि असोज १५ गते बुधबारसम्म रहनेछ। नवरात्रभर देशभरका शक्तिपीठमा पूजाआराधना र दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्दछ।

धार्मिक विश्वासअनुसार नवरात्रका अवसरमा शक्तिपीठमा पूजाआराधना एवं दर्शन गरे मनोकामना पूरा हुने मानिन्छ। यस अवधिमा घरघरमा घटस्थापनासहित जमरा राख्ने, नवदुर्गाको पूजा गर्ने र दुर्गासप्तशती, श्रीमद्देवीभागवतलगायत स्तोत्र पाठ गर्ने परम्परा छ।

नवरात्रमा पूजाआराधनापछि देवीको प्रसाद असोज १६ गते विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म ग्रहण गर्ने र विजयादशमीका दिनदेखि मान्यजनकहाँ टीका–प्रसाद थाप्ने प्रचलन रहेको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : २४ बजे