काठमाडौं । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) र द माइट ग्रुप फाउन्डेशन (MITGF/ACFID) ले हालैका प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचना पुनःनिर्माण र प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त रूपमा रिबिल्डिङ नेपाल अभियान सुरु गरेका छन्।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सेप्टेम्बर ८ बाट सुरु भएको आन्दोलनमा करिब ६० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। अदालत, मन्त्रालय, प्रहरी चौकी, सरकारी कार्यालयदेखि निजी व्यवसाय र घरसम्म जलेर वा भत्किएर नष्ट भएका छन्। क्षतिको आधिकारिक तथ्यांक भने अझै सार्वजनिक भएको छैन।
UNDO र MITGF/ACFID ले प्रभावित क्षेत्रमा तत्काल औषधि उपचार, खाना, पानी, आश्रय, सरसफाइ तथा पुनःस्थापनाका लागि राहत कार्यक्रम सुरु गरिसकेको बताएका छन्। केही प्रहरी चौकी पुनःसञ्चालन गर्न सहयोग पुर्याइएको समेत जानकारी गराइएको छ।
संगठनका प्रतिनिधिहरूले नेपाल सरकारसँग भेट गरी प्राथमिक पुनर्निर्माण आवश्यकताको सूची मागेका छन्। दुवै संस्थाले उठाइने सम्पूर्ण रकम पारदर्शी रूपमा प्रयोग हुने र विवरण आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता गरेका छन्।
UNDO नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता गरिएको प्रवासी नेपालीहरूको संस्था हो भने MITGF/ACFID अष्ट्रेलियामा डा. शेष घले र जमुना गुरुङ घलेले स्थापित फाउन्डेशन हो, जसले नेपालमा विभिन्न सामाजिक सेवा र विकास परियोजना गर्दै आएको छ।
अभियानका लागि सहयोग Rebuilding Nepal – Nepali Diaspora Overseas नामक GoFundMe पेजमार्फत वा संस्थाको सचिवालयसँग प्रत्यक्ष सम्पर्क गरी गर्न सकिनेछ।
थप जानकारी र अपडेटका लागि दुवै संस्थाले आफ्ना सामाजिक सञ्जाल पेज फलो गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया