Logo

मुख्य समाचार

टेम्केमैयुङका दुर्गम बस्तीमा केन्द्रीय विद्युत् विस्तार, स्थानीयको जीवनशैलीमा सुधार



भोजपुर — भौगोलिक रूपमा विकट मानिने भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा केन्द्रीय विद्युत् सेवा पुगेको छ। गाउँपालिकाका नौ वटै वडामा विद्युत् सेवा विस्तार भएपछि दुर्गम बस्तीका बासिन्दाको दैनिकीमा परिवर्तन आएको छ।

गाउँपालिकाको वडा नं. ४ नागीस्थित लुङ्गिन बस्तीमा समेत विद्युत् पुगेको छ। जंगलको बीचमा रहेको यस बस्तीमा ठूलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको हो। विद्युत् विस्तारसँगै स्थानीयहरूले इन्टरनेट, टेलिभिजनजस्ता सुविधा पाएका छन् र बालबालिकाले उज्यालोमा पढ्न पाउने भएका छन्।

लुङ्गिनका स्थानीय रामबहादुर राईले विद्युत् विस्तारले गाउँघरको जनजीवन सहज भएको बताए। “भौगोलिक रूपमा विकट रहे पनि सुविधा विस्तार हुँदा जीवनयापन गर्न सहज भएको छ,” उनले भने। स्थानीय बलिराज राईका अनुसार विद्युत् सेवाले दुर्गम गाउँलाई सूचना र सञ्चारको पहुँचमा जोडेको छ।

टेम्केमैयुङ गाउँपालिका १७३.४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। गाउँपालिका केन्द्र अन्नपूर्ण र अन्य गाउँसम्म पुग्न जंगलको बाटो हुँदै तीनदेखि चार घण्टा यात्रा गर्नुपर्ने अवस्था रहे पनि हाल गाउँपालिकाका सबै बासिन्दा केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ५९ बजे