Logo

मुख्य समाचार

रास्वपामा ‘अर्लि महाधिवेशन’को बहस, केन्द्रीय समिति अझै निर्णयमा पुग्न सकेन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र ‘अर्लि महाधिवेशन’बारे बहस सुरु भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा र परिवर्तित राजनीतिक परिस्थिति देखाउँदै पार्टीभित्र महाधिवेशन अघि सार्ने धारणा बलियो बनेको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिषा झाले मध्यावधि चुनावलाई ध्यानमा राखी अर्लि महाधिवेशनबारे छलफल भइरहेको पुष्टि गरेकी छिन् । तर उनले पार्टीको केन्द्रीय समितिले औपचारिक निर्णय नलिएको बताइन् ।

झाका अनुसार पार्टीका केही केन्द्रीय नेताहरुले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । पार्टीले यसअघि २०८२ फागुन ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

‘‘दसैँ सकिएलगत्तै युद्धस्तरमा काम गर्ने हो भने अर्लि महाधिवेशन सम्भव हुन्छ,’’ उनले भनिन्, ‘‘तर त्यसका लागि तोकिएको कार्यतालिका र निर्णयमा हेरफेर गर्नुपर्ने हुन्छ ।’’

रास्वपाले यसअघि यही असोजभित्र वडा, कात्तिकभित्र पालिका, मंसिरमा जिल्ला र माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरी फागुनमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते तोकिएकाले महाधिवेशन मिति सार्ने आवश्यकताबारे चर्चा बढेको झाको भनाइ छ ।

उनका अनुसार महाधिवेशन भएपछि पार्टीमा सक्रिय कार्यकर्ताले विधिवत् निर्वाचित भएर नेतृत्वमा आउने र निष्क्रिय सदस्यहरू स्वतः पन्छिने अपेक्षा गरिएको छ ।

रास्वपा ३९ महिनाअघि पूर्वमिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा गठन भएको थियो । पार्टी गठनको समय हुलमुलका आधारमा केन्द्रीय सदस्य चयन गरिएको र सक्रिय व्यक्तिहरूलाई पर्याप्त स्थान नपाएको आरोप पार्टीभित्र रहेको छ । नेताहरूका अनुसार महाधिवेशनले यस्ता सदस्यहरूको ‘स्क्रिनिङ’ गर्ने अवसर दिनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ४१ बजे