काठमाडौं । जेनजीको प्रदर्शनका कारण गत भदौ २३ र २४ गते देशभरका कारागार र बालसुधारगृहबाट भागेका कैदीबन्दीमध्ये ८ हजार ८१६ अझै फरार रहेका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार देशभरका २७ कारागारबाट २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए। यस्तै, नौ बालसुधारगृहबाट १ हजार ४२२ मध्ये ९६४ जना फरार भएका थिए।
भागेकामध्ये हालसम्म ५ हजार ४९५ कैदीबन्दी र २४४ बालसुधारगृहका बन्दी पक्राउ परेका विभागले जनाएको छ। बाँकी ८ हजार ८१६ कैदीबन्दीको खोजी जारी छ।
भाग्ने सूचीमा झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका कारागार समावेश छन्। यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदीबन्दी फरार भएका थिए।
नेपाल प्रहरीले पनि कारागार तथा हिरासतबाट फरार भएकाहरूको खोजी कार्य जारी राखेको जनाएको छ।
प्रतिक्रिया