Logo

समाचार

चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला


३ आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौँ – दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसमा अग्रिम टिकट बुकिङ खुला गरिएको छ। टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र भरपर्दो यात्रा सुविधा उपलब्ध गराउन अग्रिम टिकट बुकिङ सुरु गरेको हो।

टिवानका अध्यक्ष भीष्म न्यौपानका अनुसार काठमाडौँ, पोखरा, सौराहालगायतका प्रमुख पर्यटकीय गन्तव्यतर्फ यात्रु सहजताका लागि खल्ती र इसेवालगायत अनलाइन माध्यममार्फत टिकट काट्न सकिने व्यवस्था गरिएको छ। हाल सोह्रखुट्टेबाट २०० भन्दा बढी बसले विभिन्न गन्तव्यमा सेवा दिइरहेका छन्।

यता, यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दसैँका लागि ७० प्रतिशतभन्दा बढी आन्तरिक हवाई टिकट बिक्री भइसकेको जानकारी दिएका छन्। उनका अनुसार अधिकांश यात्रुले टिकट होल्डमा राखेका छन्।

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने यसवर्ष दसैँका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने जनाएको छ। महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार जेनजीको प्रदर्शनका कारण क्याम्पस बन्द भई धेरै यात्रु घर फर्किसकेकाले अग्रिम बुकिङ नगर्ने निर्णय भएको हो। उनले यात्रु पाँच दिन अघि नै टिकट काट्न सक्ने व्यवस्था कायमै रहेको स्पष्ट पारे।

यसैबीच, सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार ती सहायता कक्षको उद्घाटन गरेका हुन्।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : ०९ बजे