Logo

अर्थ

‘जेनजी’ प्रदर्शनमा क्षति : बिमा कम्पनीमा २० अर्ब ७० करोडको दाबी



काठमाडौं — भदौ २३ र २४ गते देशभर भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट भएको क्षतिका लागि बिमा कम्पनीहरूमा अहिलेसम्म करिब २० अर्ब ७० करोड रुपैयाँको दाबी दर्ता भएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार १८ बिमा कम्पनीमा १,९८४ दाबी दर्ता भएका छन्।

सबैभन्दा धेरै दाबी दी ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ पुगेको छ। सिद्धार्थ प्रिमियरमा ४ अर्ब ९३ करोड २२ लाख, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ४ लाख, आईजीआई प्रुडेन्सियलमा १ अर्ब ५९ करोड ६ लाख र सगरमाथा–लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ दाबी दर्ता भएको छ।

अन्य कम्पनीहरूमा हिमालयन एभरेस्टमा १ अर्ब १५ करोड ६२ लाख, नेकोमा १ अर्ब ९ करोड ५३ लाख, सानिमा जीआईसीमा ७८ करोड ९३ लाख, राष्ट्रिय बिमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाइटेड अजोडमा ४८ करोड ७४ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख, एनएलजीमा ३८ करोड ५८ लाख, प्रभुमा १९ करोड १८ लाख र नेसनलमा ६ करोड ८२ लाख रुपैयाँ दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ।

चारवटै माइक्रो निर्जीवन बिमामा पनि दाबी दर्ता भएका छन्। प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख, स्टार माइक्रोमा ६७ लाख ७ हजार, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँको दाबी परेको छ।

प्राधिकरणका अनुसार क्षतिको विवरण संकलन र मूल्यांकनको काम जारी छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  २ : ३८ बजे