Logo

अर्थ

‘जेनजी’ प्रदर्शनले राजस्व संकलनमा ५९ अर्ब ७५ करोड घाटा



काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को भदौ मसान्तसम्म सरकारले एक खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । लक्ष्यअनुसार दुई खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ संकलन गर्नुपर्नेमा लक्ष्यको ७२.६५ प्रतिशत मात्र राजस्व उठेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड रुपैयाँ कम राजस्व संकलन भएको हो । भदौ महिनामा मात्रै ९४ अर्ब आठ करोड संकलन गर्ने अनुमान गरिएकोमा ७३ अर्ब ६१ करोड रुपैयाँ मात्र उठेको छ ।

गत आर्थिक वर्ष ०८१/८२ को भदौसम्म दुई खर्ब १३ अर्ब ३६ करोड संकलन गर्ने लक्ष्य राखिएकोमा एक खर्ब ६९ अर्ब ५२ करोड रुपैयाँ मात्र राजस्व उठेको थियो ।

भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका कारण धेरै व्यवसायीले समयमै राजस्व बुझाउन नसकेको अर्थ मन्त्रालयको भनाइ छ । साउन महिनाको राजस्व विवरण बुझाउने समय असोज २५ गतेसम्म बढाइएकाले कुनै जरिवाना नलाग्ने व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षमा कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य सरकारको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ३ : ०६ बजे