Logo

अर्थ

दूध बिक्रीबाट कञ्चनपुरका पाण्डेयको मासिक एक लाख आम्दानी



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय दूध र गोबर मल बिक्री गरेर वार्षिक करिब १६ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुबईमा रोजगारीमा रहेका पाण्डेय बुबाको निधनपछि २०७६ सालमा स्वदेश फर्किए र कोभिड–१९ को कारण वैदेशिक रोजगारीमा जान नसकेपछि भैँसीपालन व्यवसाय सुरु गरेका हुन् ।

पाण्डेयले प्रारम्भमा ३० हजार रुपैयाँमा गाई खरिद गरी दूध बिक्री सुरु गरेका थिए । छ महिनामै लागत उठेपछि भैँसीपालनमा उन्मुख हुँदै हाल उनले ३२ वटा भैँसी पालेका छन् । अहिले उनका पाँच भैँसी दुईपटक र सात भैँसी बिहान एकपटक दूध दिने गर्छन्, जसबाट दैनिक ४० लिटर दूध उत्पादन हुने र प्रतिलिटर रु ९० का दरले बिक्री हुने गरेको छ ।

उनको फार्ममा तीन जनाले रोजगार पाएका छन् । भैँसीपालनबाट वार्षिक १२ लाख रुपैयाँ दूध र तीन लाख रुपैयाँ गोबर मल बिक्रीबाट आम्दानी हुने पाण्डेयको दाबी छ । उनका अनुसार छ बिघा जमिनमध्ये एक बिघामा भैँसी फार्म सञ्चालन र बाँकी पाँच बिघा घाँस तथा अन्न उत्पादनका लागि भाडामा लिइएको छ ।

पाण्डेयले अहिलेसम्म फार्ममा करिब ६५ लाख रुपैयाँ लगानी गरेका छन् । उनका अनुसार भैँसीपालनले परिवारको खर्च, छोराछोरीको पढाइ र जीविकोपार्जनमा सहयोग पुर्‍याएको छ । विदेशभन्दा स्वदेशमै व्यवसाय गरेर आम्दानी गर्दा खुसी लाग्ने बताउँदै उनले वास्तविक किसानलाई राज्यबाट पर्याप्त सहयोग नभएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  २ : १४ बजे