Logo

खेलकुद

एसीसी एसिया कपमा अफगानिस्तानलाई बंगलादेशको आठ रनले पराजय



काठमाडौं — एसीसी एसिया कपमा बंगलादेशले अफगानिस्तानलाई आठ रनले पराजित गरेको छ। मंगलबार अबुधाबीस्थित जायद क्रिकेट रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउँदै अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो।

अफगानिस्तानका रहमानउल्लाह गुरबाजले सर्वाधिक ३५ रन योगदान दिए। अज्मतुल्लाह ओमरजाईले ३०, कप्तान राशिद खानले २०, गुलबद्दिन नइमले १६, मोहम्मद नाबीले १५ र नुर अहमदले १४ रन बनाए। बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिँदा नासुम अहमद, राशिद हुसेन र तस्किन अहमदले समान दुई–दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५४ रन बनायो। तान्जिद हसनले ५२ रन बनाउँदै टिमलाई सशक्त सुरुवात दिलाए। उनले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरे। सैफ हसनले ३०, तोविक हृदयले २६ रन जोडे। जाकिर अली र नुरुल हसन १२–१२ रनमा अविजित रहे। अफगानिस्तानका लागि राशिद खान र नुर अहमदले समान दुई विकेट लिए भने अज्मतुल्लाह ओमरजाईले एक विकेट पाए।

जितसँगै बंगलादेशले तीन खेलबाट चार अंक जोड्दै समूह ‘बी’मा दोस्रो स्थान कायम राखेको छ। दुई खेलमा एक जित र एक हार भोगेको अफगानिस्तान दुई अंकसहित तेस्रो स्थानमा छ। दुवै टोलीको सुपर–४ चरण प्रवेश गर्ने सम्भावना कायम छ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १२ : १० बजे