Logo

समाचार

गगन थापा: समयमै निष्पक्ष निर्वाचन आवश्यक, पार्टी पुनर्गठनका लागि महामन्त्री पद छोड्न तयार



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तोकिएकै समयमा निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरी संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा थापाले निष्पक्ष निर्वाचन गराउने वातावरण निर्माण गर्नु अहिलेको मुख्य राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गरेका छन्।

“भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ,” उनले लेखेका छन्।

उनले पार्टी पुनर्गठनको आवश्यकता पनि औंल्याउँदै संविधान दिवसकै दिनदेखि पुनर्गठन अभियान सुरु गर्न आह्वान गरेका छन्। पार्टीलाई भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने हैसियतमा पुनःस्थापित गर्न संगठन, सदस्यता, नेतृत्व चयन प्रक्रिया, एजेन्डा र कार्यशैलीमा आमूल सुधार आवश्यक रहेको उनको भनाइ छ।

थापाले पार्टी पुनर्गठनका क्रममा आफू महामन्त्री पद छोड्न समेत तयार रहेको स्पष्ट पारेका छन्। “यसका लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु। यसमा छलफल सुरु गरौं। स्वीकार गरौं— गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममूल्यांकन र आत्मसंकल्प गरौं,” उनले बताएका छन्।

थापाको यो अभिव्यक्ति नेपाली कांग्रेसभित्रको आन्तरिक विमर्श र नेतृत्वको भूमिकाबारे नयाँ बहस सुरु हुने संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ८ : ३१ बजे