काठमाडौं — भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को प्रदर्शनमा युवाहरूले सञ्चारका लागि ‘डिस्कर्ड’ एप प्रयोग गरेको खुलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार प्रदर्शनमा सहभागीहरूबीच अवस्थाको जानकारी आदान–प्रदान र समन्वय यही एपमार्फत गरिएको थियो।
प्रहरीको प्रारम्भिक मूल्यांकनअनुसार उक्त एपमार्फत प्रदर्शनमा सहभागी युवाहरूबीच राजनीतिक असन्तुष्टि र व्यक्तिकेन्द्रित घृणा फैलाउने अभिव्यक्तिहरू पनि आदान–प्रदान भएको छ। तर प्रहरीसँग अहिले यस्ता सामाजिक सञ्जाललाई प्रत्यक्ष मोनिटरिङ गर्ने प्रविधि छैन।
डिस्कर्ड एप मूलतः गेमरहरूका लागि डिजाइन गरिएको अनलाइन एप हो, जसमा प्रयोगकर्ताले टेक्स्ट, भ्वाइस र भिडियोमार्फत कुराकानी गर्न सक्छन्। प्रयोगकर्ताले बुक क्लब वा कोडिङ जस्ता अन्य रुचिका विषयमा पनि ‘सर्भर’ बनाएर गतिविधि सञ्चालन गर्न सक्छन्। फेसबुक वा इन्स्टाग्रामका ग्रुपजस्तै डिस्कर्डका सर्भरमा सामूहिक छलफल हुन्छ।
स्रोतहरूका अनुसार जेनजी प्रदर्शनमा सहभागी युवाहरूबीच प्रधानमन्त्री चयनलगायत राजनीतिक विषयमा पनि छलफल यही एपमार्फत भएको आशंका छ। हाल नेपालमा करिब एक लाख युवाले डिस्कर्ड प्रयोग गर्ने अनुमान छ।
प्रतिक्रिया