Logo

मुख्य समाचार

चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँचजनाको मृत्यु



चितवन — जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँचजनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार १६ जनामा संक्रमण पुष्टि भएका मध्ये पाँचजनाको साउनयता मृत्यु भएको हो। पछिल्लो पटक भदौ २३ गते राप्ती नगरपालिकाकी ४२ वर्षीया महिलाको मृत्यु भएको हो।

यसअघि भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय पुरुष, कालिका नगरपालिका–५ का ८९ वर्षीय पुरुष, राप्ती नगरपालिका–१२ की ७० वर्षीया महिला र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया महिलाको मृत्यु भएको थियो। गत आर्थिक वर्षमा चितवनमा तीन जना संक्रमितमध्ये एकजनाको मृत्यु भएको थियो।

जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। उक्त लामखुट्टे घरबाहिर बस्न रुचाउने, साँझ र बिहान बढी सक्रिय हुने र सुँगुर, बंगुर, हाँसजस्ता पशुपक्षीलाई टोक्दा पनि रोग सर्ने गर्छ। धानखेतीमा समेत यसले अण्डा पार्ने र लार्भा विकास हुने जानकारी उनले दिए।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : ५९ बजे