Logo

खेलकुद

एसिया कपमा भारत–पाकिस्तान खेलको तीव्र प्रतिक्षा



काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीच हुने खेलप्रति क्रिकेटप्रेमीको उत्साह तीव्र बनेको छ।

एसीसीले आयोजना गरेको प्रतियोगितामा आठ टोली सहभागी छन्। प्रतियोगिता सेप्टेम्बर ९ बाट सुरु भइसकेको हो भने फाइनल खेल सेप्टेम्बर २८ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने तय छ।

साविक विजेता भारतले उद्घाटन खेलमै आयोजक यूएईलाई ९ विकेटले पराजित गरेको छ। पाकिस्तानले भने एसिया कपअघि अफगानिस्तान र यूएईसँगको त्रिदेशीय सिरिज जितेर प्रतियोगिताको तयारी गरेको थियो।

भारत र पाकिस्तानबीचको पहिलो भिडन्त आइतबार, सेप्टेम्बर १४ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। प्रारम्भिक रूपमा एसिया कप भारतमा आयोजना गर्ने योजना भए पनि दुई देशबीचको द्वन्द्वका कारण प्रतियोगिता यूएईमा सारिएको हो।

दुवै देशबीच सन् २०२३ फेब्रुअरी २३ मा च्याम्पियन ट्रफीमा अन्तिम पटक भेट भएको थियो, जसमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। एकदिवसीय क्रिकेटमा पाकिस्तानले ७३ जित निकाल्दा भारतले ५८ जित हात पारेको छ।

एसिया कपमा हालसम्म भारत र पाकिस्तानबीच १९ पटक प्रतिस्पर्धा भएको छ। भारतले १० खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ। तीन खेल मौसमका कारण रद्द भएका थिए। सन् २०२२ मा यूएईमा भएको एसिया कपमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको थियो।

यदि दुवै टोली सुपर फोरमा प्रवेश गरे भने उनीहरूबीच अर्को खेल सेप्टेम्बर २१ मा हुनेछ। फाइनलमा प्रवेश गरे सेप्टेम्बर २८ मा तेस्रो भेट हुने सम्भावना छ।

भारतले हालसम्म सात पटक एसिया कप जितेको छ भने पाकिस्तान दुई पटक विजेता बनेको छ। आज भने पाकिस्तान र ओमानबीच प्रतियोगिताको पहिलो खेल हुनेछ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ६ : ०६ बजे