काठमाडौ । देशभर भइरहेको आन्दोलन तथा प्रदर्शनका क्रममा जनधनमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सरकारसँग तत्काल माग गरेको छ।
महासंघले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। महासंघका अनुसार पछिल्लो घटनाक्रममा कतिपय उद्यमी तथा व्यवसायीका उद्योग, प्रतिष्ठान, कार्यालय तथा निजी निवासमासमेत तोडफोड र आगजनीका घटनाहरू भएका छन्, जसबाट अर्बौं रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
महासंघले जनाएको छ कि यस्तो क्षतिका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादन (GDP) र राजश्वमा गम्भीर असर पर्ने सम्भावना रहेको छ। यदि निजी क्षेत्रका गतिविधिहरू निर्वाध रूपमा सञ्चालन हुन सकेनन् भने अर्थतन्त्र थप संकटतर्फ जाने महासंघको चेतावनी छ।
महासंघका अनुसार उनीहरूले देशभर करिब ६ लाख साना, मझौला र ठूला उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्दै आएका छन्। हालको अन्यौलपूर्ण परिस्थितिमा पनि उद्योग व्यवसायलाई निरन्तरता दिन शान्ति सुरक्षाको व्यवस्था हुनु अनिवार्य रहेको महासंघको भनाइ छ।
महासंघले निषेधाज्ञा तथा कफ्र्युका अवस्थामा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक वस्तुको ढुवानी र सेवामा संलग्न पेशाकर्मीहरूको आवतजावत सहज बनाउन आग्रह गरेको छ। साथै, केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ र त्यसका स्थानीय सदस्यहरूको सहभागिता सुनिश्चित गर्न माग गरिएको छ।
महासंघले देशभरका व्यवसायीहरूलाई गुणस्तरीय वस्तुहरूको आपूर्ति कायम राख्न, बजारमा अभाव सिर्जना नहुने गरी उत्पादन तथा आपूर्ति व्यवस्थापन गर्न पनि आग्रह गरेको छ। साथै यसका लागि सम्बन्धित संघसंस्थाहरूलाई अनुगमनमा सक्रिय भूमिका खेल्न अनुरोध गरिएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल खुलेको भए पनि धेरै भन्सार नाका अझै बन्द रहेको भन्दै महासंघले अत्यावश्यक वस्तुहरूको आयात–निर्यात सहज बनाउन भन्सार नाकामा सुरक्षा दिई तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेको छ।
महासंघका अनुसार निजी क्षेत्रले नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिँदै आएको छ भने कुल राजश्वको ८० प्रतिशत र रोजगारीको ८६ प्रतिशत हिस्सा पनि यही क्षेत्रले ओगटेको छ।
महासंघले बुधवार कार्यकारिणी समिति र पूर्व अध्यक्षहरूसँगको बैठकपछि जारी गरिएको धारणा सार्वजनिक गर्दै, सुशासन, वाक स्वतन्त्रता, मर्यादित रोजगारी र पेशा व्यवसायको स्वतन्त्रताको सुनिश्चितता गर्दै समुन्नत समाज निर्माणमा सरकार र सबै सरोकारवालाको सहकार्यको आवश्यकता औंल्याएको छ।
महासंघले अन्त्यमा युवा पुस्ताको भावना र आकांक्षाअनुसार स्थायित्व, लगानी प्रवर्द्धन र रोजगारी सृजनामा सहयोग पुर्याउने वातावरण निर्माण गर्न सबै पक्षमा पुनः आग्रह गरेको छ।
प्रतिक्रिया