काठमाडौं । हालैको अराजक घटनाले चौधरी समूह (सीजी)लाई ठूलो क्षति पुर्याए पनि कम्पनी बलियो बनेर पुनः उठ्ने प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन्।
फेसबुकमार्फत सार्वजनिक सन्देशमा चौधरीले केही दिनअघि सुरु भएको जवाफदेही र सुधारको मागसहितको युवा आन्दोलनलाई बाह्य शक्ति र अराजक समूहले हिंसात्मक बनाएको आरोप लगाएका छन्। उनका अनुसार यस क्रममा घर, कार्यालय, कारखाना र शो रुमहरूमा क्षति पुगेको छ।
चौधरीले दशकौँको परिश्रम र लगानी केही घण्टामै ध्वस्त पारिएको दाबी गर्दै पनि नेतृत्व, प्रबन्धक र कर्मचारीहरूले आफ्नो सुरक्षाको पर्वाह नगरी सम्पत्तिहरू जोगाउन र ग्राहकलाई प्रतिबद्धता पूरा गर्न निरन्तर खटिएको बताए।
उनले सीजी समूह नेपालकै सबैभन्दा ठूलो करदाता, प्रमुख रोजगारीदाता र संकटका समयमा अग्रपंक्तिमा रहने संस्था रहेको उल्लेख गर्दै “हामी पुनर्निर्माण गर्छौं, पुनः उठ्छौँ र अझ बलियो भएर अघि बढ्छौँ” भने।
चौधरीले हिंसा र विनाशले भवनहरू जलाए पनि सीजी समूहको सपना, मूल्य र एकतालाई नजलाउन सकिने उल्लेख गर्दै “यो विपत्तिबाट नयाँ शक्ति, विचार र प्रणाली जन्मिनेछ” भनेका छन्।
प्रतिक्रिया