Logo

मुख्य समाचार

एकैदिन १४१ एनओसी जारी, शनिबार पनि सेवा दिन मन्त्रालय तयार


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एकैदिन १४१ वटा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गरेको छ। विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सानोठिमीस्थित मन्त्रालयको शाखाबाट यी प्रमाणपत्रहरू प्रदान गरिएको हो।

शाखा प्रमुख वासुदेव वस्तीका अनुसार सोही दिन ८ वटा पुराना एनओसी रद्द गरिएका छन् भने एउटा प्रोभिजनल एनओसी जारी गरिएको छ। उनका अनुसार विद्यार्थीले विदेशमा अध्ययन गर्न लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने भएकाले एनओसी प्रक्रियाले उनीहरूलाई असर नपरोस् भनेर सेवा प्रवाहमा तीव्रता दिइएको हो।

“विद्यार्थीलाई असहज नहोस् भनेर हामी अतिरिक्त समय दिएर पनि काम गरिरहेका छौँ,” वस्तीले भने, “आवश्यक परे शनिबार पनि काम गर्न तयार छौँ।”

शाखाले बिहीबार मात्रै ४६९ वटा शैक्षिक प्रमाणपत्र सत्यापन गरेको छ भने कागजात नपुगेका कारण २५८ वटा एनओसी आवेदन रद्द गरेको छ। त्यसैदिन बेलुकी ८ बजेसम्म अनलाइन प्रणालीमार्फत ११८ जनाले नयाँ एनओसीका लागि आवेदन दिएका थिए।

हाल शाखाले पूर्ण रूपमा अनलाइन माध्यमबाट सेवा दिइरहेको छ। वस्तीका अनुसार विद्यार्थीलाई ढिला नहोस् भन्ने उद्देश्यले सेवा समय विस्तार र साप्ताहिक बिदामा समेत काम गर्न सकिने व्यवस्था मिलाइनेछ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ११ : ४६ बजे