Logo

मुख्य समाचार

बीमा प्राधिकरणको निर्देशन: जेनजी आन्दोलनबाट प्रभावित बीमा दाबी छिटो भुक्तानी गर्न आग्रह



काठमाडौं। नेपाल बीमा प्राधिकरणले हालैको जेनजी आन्दोलनबाट भएको क्षतिपछि बीमा दाबी छिटो र सहज रूपमा भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै देशको असहज परिस्थितिलाई दृष्टिगत गर्दै बीमितले दाबी गरेको क्षतिको मूल्याङ्कन छिटो गर्न र भुक्तानी प्रक्रिया सरल बनाउन बीमा कम्पनीहरूलाई आग्रह गरेको हो।

गत सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको पहिलो दिन करिब २० जना युवा तथा विद्यार्थीको मृत्यु भएपछि देशभर आक्रोशित प्रदर्शनहरू भएका थिए। मंगलबार देशका प्रमुख सरकारी कार्यालयहरू सहित सिंहदरबारमा समेत तोडफोड र आगजनी भएको थियो।

यस आन्दोलनका कारण सरकारी तथा निजी सम्पत्तिमा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। प्राधिकरणका अनुसार यस्ता घटनाबाट बीमितको सम्पत्तिमा क्षति पुगेको अवस्थामा बीमा दाबी सहज र छिटो भुक्तानी गर्न आवश्यक देखिएको हो।

प्राधिकरणले निर्जीवन बीमा कम्पनी र निर्जीवन लघु बीमा कम्पनीहरूलाई विशेष रूपमा सम्बोधन गर्दै, सम्पत्ति बीमा, निजी तथा सार्वजनिक सवारी, समुद्री, इन्जिनियरिङ, ठेकेदार जोखिम, हवाई, कृषि बाली, पशुपन्छी लगायत विविध बीमाशिर्षकअन्तर्गत आएका दाबीहरूमा शीघ्र कारवाही गर्न भनेको छ।

साथै, बीमा कम्पनीहरूले कुन–कुन शिर्षकमा कति बीमा दाबी आएका छन् भन्ने विवरण समयमै प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ६ : ४५ बजे