Logo

मुख्य समाचार

पर्साको अवस्था सामान्य बन्दै, कफ्र्यु आंशिक रूपमा खुकुलो



पर्सा । जेनजी आन्दोलनका कारण सृजित असामान्य परिस्थिति सामान्य हुँदै गएपछि पर्सा जिल्ला प्रशासनले कफ्र्यु खुकुलो पार्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बिहीबार बसेको सुरक्षा समितिको बैठकको निर्णयअनुसार सर्वसाधारणलाई सहज बनाउन कफ्र्यु आंशिक रूपमा खुकुलो बनाइएको जानकारी दिएका छन् ।

उनका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म कफ्र्यु हटाइनेछ । तर, सो समयमा निषेधाज्ञा भने यथावत् रहनेछ ।

जारी सूचनाअनुसार कफ्र्यु बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म लागु हुनेछ । यस्तै, निषेधाज्ञा दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म र अपराह्न ५ बजेदेखि साँझ ७ बजेसम्म लागू हुनेछ ।

निषेधाज्ञा र कफ्र्यु पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट सम्म लागू हुने सिडिओ सुवेदीले जानकारी दिएका छन् ।

कफ्र्यु अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू  एम्बुलेन्स, दमकल, शववाहन, फोहोर व्यवस्थापन सवारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी, नेपाल विद्युत् प्राधिकरण, खानेपानी, दूध बोक्ने सवारी तथा हवाई टिकटका आधारमा हवाई यात्रुलाई आवतजावत गर्न अनुमति दिइनेछ ।

त्यसैगरी, निषेधाज्ञा अवधिमा दैनिक उपभोग्य वस्तु किनबेच र सामान्य आवतजावत गर्न पाइने भए पनि पाँच जना वा सोभन्दा बढी भेला, सभा, जुलुस, धर्ना वा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।

यसैबीच, अर्को विज्ञप्ति जारी गर्दै सिडिओ सुवेदीले जेन(जी) आन्दोलनका क्रममा पर्सा जिल्ला लगायत मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले शान्ति र संयम कायम गर्न सबैलाई अपिल गर्दै थप क्षति रोक्न सबै नागरिकलाई सहयोग गर्न आग्रह गरे।

विज्ञप्तिमा भनिएको छ,‘प्रदर्शन र आन्दोलनको नाममा केही अराजक व्यक्ति र समूहले सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट र हिंसक गतिविधि गरिरहेका छन्। यस्ता गैरकानूनी कार्य रोक्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालित छन् ।’

सुवेदीले जिल्ला सुरक्षा समितिले जिल्लामा शान्ति, सुरक्षा र अमनचैन कायम गर्न कटिबद्ध रहेको जनाउँदै, प्रचलित कानुन विपरीत हुने कुनै पनि अराजक वा गैरकानूनी गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गरिने चेतावनी पनि दिए।

उनले सबै पक्षलाई संयमित भई शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न र गैरकानूनी गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। जिल्ला सुरक्षा समितिले शान्ति र स्थायित्व कायम गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेकोमा जोड दिएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ४ : ५१ बजे