Logo

अर्थ

भारतमा टाटा गाडी सस्तो, नेपालमा पनि मूल्य घट्ने



काठमाडौं । भारतमा टाटा मोटर्सले गाडीको मूल्य घटाएपछि नेपालमा पनि सस्तो हुने भएको छ।

भारत सरकारले हालै पारित गरेको वस्तु तथा सेवा कर (जीएसटी) २.० अनुसार अटोमोबाइलमा कर दर घटेपछि उत्पादन लागत कम भएको हो। नयाँ व्यवस्था सेप्टेम्बर २२ देखि लागू हुनेछ।

टाटाका अनुसार सवारीसाधनमा अधिकतम १ लाख ४५ हजार भारतीय रुपैयाँसम्म मूल्य घटेको छ। कम्पनीले नयाँ कर प्रणालीबाट प्राप्त सबै लाभ ग्राहकलाई हस्तान्तरण गर्ने जनाएको छ।

जीएसटी २.० ले अटोमोबाइल क्षेत्रका कर दरलाई दुई तहमा सीमित गरेको छ। १२०० सीसीसम्मको पेट्रोल, एलपीजी र सिएनजी तथा १५०० सीसीसम्मको डिजेल इन्जिन भएका साना गाडीमा कर २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको छ। ठूला कार र एसयूभीमा भने कर दर ४० प्रतिशत फ्ल्याट कायम गरिएको छ।

कर संरचना सरल भएपछि मूल्य निर्धारण पारदर्शी हुने र बिक्रीमा सुधार आउने अपेक्षा गरिएको छ। नेपालमा टाटाका बस, ट्रक, जीप र कार लोकप्रिय रहेका छन्। भारतमा मूल्य घटेसँगै नेपालमा पनि गाडी सस्तो हुने एजेन्सीहरूले जनाएका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : ४० बजे