Logo

Breaking News 1

व्यवहारिक र प्रविधिमैत्री शिक्षण प्रणाली जरुरी छ : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले व्यवहारिक, प्रविधिमैत्री र नवीन शिक्षण प्रणाली अवलम्बन गर्न जरुरी भएको बताएका छन् ।

शिक्षालाई जीवन उपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता उनले औँल्याए । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवम् शैक्षिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले समय अनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको बताए ।

वर्तमान शिक्षा प्रणाली परम्परागत भएको भन्दै विद्यार्थीले केवल किताब पढ्ने र परीक्षा पास गर्ने लक्ष्य राखेर शैक्षिक गुणस्तर बढाउन नसकिने उनले बताए । मुख्यमन्त्री कँडेलले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको सुधारसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

“शिक्षामा रूपान्तरण ल्याउन नीतिगत सुधार, स्रोत व्यवस्थापन र सक्षम शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ,” उनले भने ।
नवनिर्मित विद्यालय भवनले सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारको तर्फबाट कर्णालीका विद्यालयहरूमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए ।

मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा शिक्षाको माध्यमबाट दीर्घकालीन विकास सम्भव हुने उल्लेख गर्दै शिक्षक, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए । शिक्षा अब सामाजिक परिवर्तनको साधन हुनुपर्छ, त्यसका लागि हामी सबै एकजुट हुनु पर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।

उनले शैक्षिक भवन निर्माणसँगै सुर्खेत विमानस्थल विस्तारको कार्यमा सहजता हुने विश्वास व्यक्त गरे । शैक्षिक भवन कर्णाली प्रदेश सरकारको पाँच करोड ८९ लाख २४ हजार आठ सय ३४ रुपैयाँ ४६ पैसा लागतमा ३३ कोठाको भवन निर्माण हुने छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : ४० बजे