Logo

Breaking News 1

बीपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी



रामेछाप । लगातारको वर्षासँगै आएको पहिरो र लेदोका कारण बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी छ ।

राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा तीन ठाउँमा सडक अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास आज बिहानदेखि सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोशी गाउँपालिका–११ माम्तीस्थित सडक खण्डमा आएको भेल बाढीले कटान गर्दै सडक पूर्णरूपमा बन्द गराएको छ। त्यस्तै, रोशी–९ स्थित खहरे खोलाबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको छ ।

बिरुवाडाँडामा समेत खहरे खोलाको लेदो पस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ । जेसिभी प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ ।

वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ ।

गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशीखोला क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । अस्थायी रुपमा सञ्चालन भएको सडकमा बारम्बार समस्या आएको छ ।

सडक अवरुद्ध हुँदा रामेछाप, सिन्धुली लगायत पूर्वी नेपाल आउजाउ गर्ने सवारी साधन रोकिएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : १९ बजे