Logo

Breaking News 1

वाम एकता असम्भव छैन, जिम्मेवारी एमालेले लिनुपर्छ : झलनाथ खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले वामपन्थी आन्दोलन विभाजित हुनुमा मुख्य जिम्मेवारी नेकपा एमाले नै रहेको बताए ।

उनले भने, ‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो । त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ ।’

उनले एमालेले वामपन्थी एकतामा अग्रसरता लिएमा ठूलो संख्याको वाम शक्तिहरू एकताबद्ध हुन सक्ने सम्भावना अझै बाँकी रहेको बताए । उनले पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुने चर्चाका सन्दर्भमा पनि खुलेर अभिव्यक्ति दिएका छन् ।

‘विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा पुनः प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र नेतृत्वको दाबी गर्ने हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ खनालले भने ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति राज्यको व्यवहारप्रति पनि उनले चिन्ता व्यक्त गरे । खनालले भने, ‘रविले गल्ती गरे गरेनन् भन्ने ठोस प्रमाण मसँग छैन । तर, राज्यले उनीमाथि अनावश्यक ज्यादती गरिरहेको महसुस मलाई पनि भएको छ ।’

खनालको चिन भ्रमण पार्टी आन्तरिक सुदृढीकरण, दुई पक्षीय सम्बन्ध सुदृढीकरण र वाम आन्दोलनको एकता सन्देशका लागि भएको जनाइएको छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  २ : ४९ बजे