काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले मुलुकलाई द्रुत आर्थिक विकासको दिशामा लैजान १८ घण्टा काम गर्न सक्ने प्रधानमन्त्री आवश्यक रहेको बताएका छन् ।
कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित विचार गोष्ठी कार्यक्रममा बोल्दै आचार्यले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारलाई संवेदनशील र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
‘हामी पूँजीवादको पक्षमा छैनौं, हामी साम्यवादको पक्षधर पनि होइनौं,’ उनले भने, ‘हामी निजी क्षेत्रको भूमिकालाई विस्तारित बनाउन चाहन्छौं । सरकारले गरिबी निवारणमा काम गर्नुपर्छ । गरिबका छोराछोरीले पढ्न पाउने वातावरण सुनिश्चित गर्न स्कुल खोल्ने, उच्च शिक्षामा अन्तर्राष्ट्रिय स्तर कायम गर्न सरकार अग्रसर हुनुपर्छ । अब देशलाई आर्थिक एजेण्डामा काम गर्ने प्रधानमन्त्री चाहिन्छ । द्रुत गतिमा विकास गर्न १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ ।’
पूर्वाधार विकासलाई सरकारले ‘नमुनाको रूपमा’ अगाडि बढाउनु पर्नेमा उनको जोड थियो । आचार्यले मुलुकको विकासका लागि निजी क्षेत्र र राज्यबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जनताको हितमा केन्द्रीत नीतिहरू आवश्यक रहेको बताए ।
गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै उनले लोकतन्त्र, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा कोइरालाको दृष्टिकोण आज पनि सान्दर्भिक रहेको बताए ।
प्रतिक्रिया