Logo

राजनीति

कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता : गृहमन्त्री लेखक



बैतडी । गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८२ सम्म लिएर जानुपर्ने बताएका छन् ।  बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धन विकल्प नभएको बताएका हुन् ।

उनले भने, ‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ । सरकार बनेको १ वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्ष पछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । ८४  को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ ।’

कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ छ । 

यस्तै गृहमन्त्री लेखकले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताए ।  ‘मान्छेका आ–आफ्नो राजनीतिक उदेश्य छन् । सरकार र समीकरणलाई कसरी कमजोर गर्ने ? कांग्रेसलाई कसरी कमजोर गर्ने भन्ने कुरा होला । मेराविरुद्धमा राजनीतिक षड्यन्त्र भएको हो ।  यो कुरा विस्तारै स्पष्ट हुँदै गएको छ । एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई नै जोड्नुको नियत प्रष्टै छ,’उनले भने ।

साथै सरकार र विपक्षी दलबीचको सहमति अनुसार अध्यागमनमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीयसमिति बनेको उनको भनाइ छ । यस्तै सुदूरपश्चिमको विकासका लागि सरकार सबै तवरबाट लागि परेको गृहमन्त्री लेखकले बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ०० बजे