Logo

प्रवास

एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा



काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)  बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई खारेज गरिदिएको छ ।

एनआरएनए बेल्जियमकी  अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा आइतबार बसेको पूर्ण बैठकले निर्वाचित कार्यसमितिलाई भंग गर्ने भनिएको  पत्रलाई अवैधानिक ठहर गर्दै खारेज गरिदिएको हो ।

बैठकले संस्थाकै केही व्यक्तिले समानान्तर गतिविधि  गरेको भन्दै उनीहरुलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ । स्पष्टिकरण नदिए बर्खास्त गरिने निर्णय पनि बैठकले गरेको अध्यक्ष सापकोटाद्वारा  जारी  विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, एनसीसी बेल्जियमको साधरणसभा अगष्ट १७ र चुनाव अगष्ट २५, २०२५ मा गर्ने निर्णय भएको कार्यवाहक महासचिव राजेन्द्र कुमार कार्कीले जानकारी दिए ।  बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष लोक प्रसाद दाहाल, प्रवक्ता गंगाधर गौतम, युरोप संयोजक प्रेम गुरुङ, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, पूर्व अध्यक्षद्वय  जानकी गुरुङ,  चित्र सुवेदी लगायतको सहभागिता थियो ।  

संघको केन्द्रीय कार्यालय कब्जा गरेर बसेको बद्री समूहले एनआरएनएलाई फुटाउने उद्देश्यले निर्वाचित  र स्वायत्त एनसीसीहरु  भंग गरिएको भनी पत्र पठाएकोमा संसारभरि रहेका एनसीसीहरुले कडा निन्दा र आलोचना गरेका छन्।   

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ४१ बजे