पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार नगर उपमेयर मञ्जुदेवी गुरुङले बजेट वाचन गरेकी हुन्। नगर प्रमुख धनराज आचार्यले सोही दिन नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि, सोमबारदेखि चीन भ्रमणमा जान लागेकाले नगर कार्यपालिकाले हतारमा नीति तथा कार्यक्रम र बजेट एकै दिन सार्वजनिक गरेको हो।
बजेट प्रस्तुत गर्ने क्रममा तथ्यांक र अङ्कमा त्रुटि देखिएको थियो। उपमेयर गुरुङले बजेट पढ्दै गर्दा नगर कार्यपालिकाका कर्मचारीहरूले लगातार गल्ती सच्याइरहेका थिए। बजेट दस्तावेजमा चालु खर्च र पुँजीगत खर्चको स्पष्ट विवरण उल्लेख नगरिनु पनि प्रमुख कमजोरीको रूपमा उठाइएको छ।
बजेट अनुसार कुल अनुमानित आयमध्ये संघीय सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड १२ लाख रुपैयाँ अर्थात ३७.५ प्रतिशत र आन्तरिक स्रोतबाट ५ अर्ब २२ करोड ३१ लाख रुपैयाँ अर्थात ६६.५ प्रतिशत प्राप्त हुने अनुमान गरिएको छ। बजेटमा कर राजस्वबाट ३ अर्ब २३ करोड ७२ लाख रुपैयाँ अर्थात ६१.८६ प्रतिशत आन्तरिक आम्दानी हुने उल्लेख छ। त्यस्तै स्थानीय राजस्व बाँडफाँडबाट १ अर्ब १ करोड १५ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ४ करोड २८ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँडबाट ३३ करोड रुपैयाँ र संघीय अनुदानबाट ५२ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, प्रदेश समानीकरण अनुदानबाट ८ करोड १५ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ।
खर्चको पक्षमा नगर कार्यपालिकाको कार्यालयमा ९५ करोड रुपैयाँ, सामाजिक विकासमा ३८ करोड, आर्थिक विकासमा १८ करोड, वडा कार्यालयहरूमा १ अर्ब रुपैयाँ, पूर्वाधार विकासमा २ अर्ब ३३ करोड रुपैयाँ र शहरी विकास, पर्यटन, वन तथा वातावरण क्षेत्रमा ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेट र नीति कार्यक्रम सार्वजनिक गर्ने शैली, तथ्याङ्कमा देखिएका त्रुटिहरू, र प्रमुख बिवरणको अभावले पोखरा महानगरको बजेट प्रक्रियामाथि आलोचना भएको छ। योजनाबद्ध र पारदर्शी ढंगमा प्रस्तुत हुनुपर्ने बजेट यसपालि हतारमा, तयारीबिना आएको भन्दै जनप्रतिनिधि र विश्लेषकहरूले प्रश्न उठाएका छन्।
प्रतिक्रिया