काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् ।
निजी उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले सोमबार साँझ आयोजना गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै उनले विद्युत विद्येयकलाई चाँडो संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन् ।
‘निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी ल्याउन लागिरहेको विद्युत विद्येयकलाई अगाडि बढाउन रातदिन नभनी काम गरिरहेका छौँ, एक महिनाभित्र संसदबाट पास हुन्छ,’ मन्त्री खड्काले भने ।
मन्त्री खड्काले मन्त्रालयले उर्जा उत्पादनका क्रममा देखिएका बाधा व्यवधानलाई चिरेर काम गर्न लागिरहेको बताए । ‘यो डेभलपर्सको मात्र समस्या होइन, मुलुककै समस्या हो, यो समस्याबाट माथि उठ्न सकिएन भने मुलुक नै समस्यामा पर्छ,’ उनले भने ।
सरकारले निजी क्षेत्रलाई साथमा लिएर उर्जा क्षेत्रको विकास गर्ने भनेर २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न उर्जा उत्पादकको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले सरकारले ल्याएको उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि उर्जा मन्त्रालयका सचिवको नेतृत्वमा अन्र्तमन्त्रालय समिति र उपसमिति गठन गरिएको जानकारी दिए । अव पुरानो मानसिकता र पुरानो कानूनलाई परिमार्जन गर्दै अगाडि बढिने उनको भनाई थियो ।
यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि सरकारले भर्खरै विद्युत खरीद सम्झौता (पिपिए)लाई अगाडि बढाएको बताए ।
इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगीलगायतले उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि शक्तिशाली निकाय आवश्यक रहेको बताए । उनले उर्जा, वन र कानून मन्त्रालयबीच समन्वय नहुँदा नेपालको उर्जा क्षेत्रको विकासले गति लिन नसकेको बताए ।
प्रतिक्रिया