कैलाली । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको अभियोगमा फरार रहेका धनगढी नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी पक्राउ परेका छन्।
आइतबार बिहानदेखि फरार रहेका धामीलाई कैलाली प्रहरीको टोलीले सोमबार कञ्चनपुरको झलारीबाट लुकिरहेका अवस्थामा पक्राउ गरेको हो।
शनिबार राति धामीसहितको प्रहरी समूहले कैलाली भन्सार कार्यालयमा प्रवेश गरी प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेको आरोप छ। घटनापछि पीडित पक्षले धामीसहित संलग्न प्रहरीविरुद्ध “अभद्र व्यवहार” शीर्षकमा किटानी जाहेरी दिएको थियो।
यसअघि पनि कैलाली भन्सार कार्यालय विवादमा तानिएको थियो। गत मंसिरमा एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल फेला परेपछि भन्सार प्रमुख तिमिल्सिनाका भान्सेसहित दुई जना पक्राउ परेका थिए। उनीहरूविरुद्ध किर्ते तथा अपराधिक लाभको आरोपमा अनुसन्धान भइरहेको छ।
धनगढी भन्सार कार्यालयमा यसअघि पनि तस्करी र सेटिङको आरोप लाग्दै आएको छ। गत पुसमा भन्सार छलेर ल्याइएको फलफूलसहितको भारतीय ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भन्सार प्रशासन र सशस्त्र प्रहरी बलबीच विवाद उत्पन्न भएको थियो।
सुरक्षा निकाय र भन्सार प्रशासनबीचको समन्वय अभावले गर्दा तस्करी नियन्त्रणमा चुनौती देखिएको छ। स्थानीय व्यवसायीहरूका अनुसार, भन्सार छलेर ल्याइएका सामानहरू सहजै बजारमा प्रवेश गर्ने गरेका छन्।
प्रतिक्रिया