Logo

विश्व

मिस इङल्याण्डले यौन दुर्व्यवहारको आरोप लगाउँदै मिस वर्ल्ड प्रतियोगिता छोडिन्



हैदराबाद, भारत । मिस इङल्याण्ड मिला म्यागीले हैदराबादमा जारी मिस वर्ल्ड प्रतियोगिता बीचमै छोडेकी छन्। प्रतियोगितामा यौन दुर्व्यवहार र लगानीकर्तासँग सम्बन्ध बनाउन दबाब दिएको आरोप लगाउँदै उनले प्रतियोगिताबाट बहिर्गमन गरेकी हुन्।

२४ वर्षीया म्यागीले बेलायती पत्रिका द सन सँगको अन्तर्वार्तामा आफूलाई यौनकर्मीजस्तो व्यवहार गरिएको बताउँदै मिस वर्ल्ड आयोजकमाथि गम्भीर आरोप लगाएकी हुन्। उनका अनुसार प्रतियोगीहरूलाई वृद्ध पुरुष लगानीकर्ताहरूसँग समय बिताउन, भारी पहिरनमा लगातार उपस्थित रहन र पाहुनाहरूलाई ‘मनोरञ्जन’ दिन बाध्य बनाइएको थियो।

“हामीलाई सामाजिक मुद्दाहरूको बारेमा बोल्नको लागि ल्याइएको भनिए पनि वास्तवमा लगानीकर्तालाई खुसी राख्ने वातावरण बनाइएको थियो,” उनले भनिन्। म्यागीले प्रतियोगितामा सहभागी १०९ प्रतियोगीहरूमाथि ‘बाँदरझैं व्यवहार’ गरिएको र उनीहरूलाई बारम्बार गाली गरिएको पनि आरोप लगाइन्।

मिस वर्ल्ड आयोजकले भने म्यागीका आरोपहरू अस्वीकार गरेका छन्। मिस वर्ल्डकी सीईओ जुलिया मोर्लीले मे २४ मा जारी गरेको आधिकारिक विज्ञप्तिमा म्यागीले आमाको स्वास्थ्य बिग्रँदै गएपछि प्रतियोगिता छोडेको उल्लेख छ। साथै, बेलायती मिडियामा आएको समाचारलाई “झूटा र मानहानिपूर्ण” भन्दै खण्डन गरिएको छ।

म्यागी मे ७ मा हैदराबाद पुगेकी थिइन् भने मे १६ मा प्रतियोगिता बीचमै छोडेर बेलायत फर्किएकी हुन्। मिस वर्ल्डको ७४ वर्षे इतिहासमा इङ्ल्याण्डको प्रतिनिधित्व गर्दै सहभागी भएकी प्रतियोगी अचानक हटाइएको यो पहिलोपटक हो। उनको स्थानमा मिस इङ्ल्याण्डकी रनरअपलाई प्रतिस्थापन गरिएको छ।

मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा मे ३१ मा हुँदैछ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ७ : ०७ बजे