Logo

मुख्य समाचार

नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान



काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई देश छाडेर क्यानाडा पुगेका छन् । स्रोतका अनुसार उनी २०८१ साल जेठ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फिलिपिन्समार्गी क्यानाडा पुगेका हुन् ।

गत २०८० चैत १ गतेदेखि नेपाल स्काउट शुद्धिकरण अभियानले भट्टराईविरुद्ध विभिन्न आर्थिक तथा नैतिक अनियमितताका आरोप लगाउँदै छानबिनको माग गर्दै आन्दोलन सुरु गरेको थियो ।

सोही आन्दोलनको अन्त्यमा खेलकुद मन्त्री तेजुलाल चौधरीको रोहबरमा सहमति कायम भएको थियो, जसअनुसार छानबिन समितिको प्रतिवेदन आउन्जेलसम्म उनलाई कामकाजबाट अलग राख्ने निर्णय गरिएको थियो ।

तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै भट्टराईलाई पुनः कार्यमा फर्काइएको थियो । अहिले उनी कार्यालयमा अनुपस्थित छन् । स्रोतका अनुसार हाल उनी क्यानाडामा छन् ।

भट्टराईमाथि नेपाल स्काउटका आन्तरिक व्यवस्थापनमा वित्तीय अनियमितता, महिला कर्मचारीहरूमाथि यौन दुव्र्यवहार, अनियमित तलबभत्ता लिने, र कार्यक्रमका नाममा व्यक्तिलाई विदेश पठाउने नाममा मानव बेचबिखनजस्ता गम्भीर आरोपहरू लागेको जनाइएको छ ।

यिनै आरोपहरूका छानबिनका लागि खेलकुद मन्त्रालयकी उपसचिव रमा भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै भट्टराईलाई कार्यमा पुनः फर्काउने निर्णय गरिएको थियो ।

स्रोतका अनुसार यो निर्णय तत्कालीन प्रमुख आयुक्त देवराज घिमिरेद्वारा गरिएको हो, जसमा मन्त्री चौधरीको दबाब रहेको आरोप लागिएको छ ।

नेपाल स्काउटका एक कर्मचारीका अनुसार छानबिनको प्रक्रियामा रहेका एकजना उच्च पदस्थ व्यक्ति सजिलै विदेश जान सक्नु राज्यको नियमन क्षमतामाथि गम्भीर प्रश्न हो ।

यसैबिच, शुद्धिकरण अभियान समितिका सदस्यहरूले छानबिन प्रतिवेदन चाँडै सार्वजनिक नभए नयाँ चरणको आन्दोलन घोषणा गर्ने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ८ : ५२ बजे