Logo

Breaking News 1

महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की र सिँचाइ पाइप



रामेछाप । मन्थली नगरापालिका–२ कठजोरका महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की तथा सिँचाइ पाइप वितरण गरिएको छ ।

मन्थली नगरपालिका र पहाडी समाज कल्याण केन्द्रको साझेदारी तथा हेफेर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो ।

निलकण्ठेश्वर स्वावलम्बी महिला कृषक समूहका किसानलाई उपलब्ध गराइएको ट्याङ्की र पाइप वडाध्यक्ष सुरेन्द्र कार्की लगायतले वितरण गरेका हुन् ।

सो समूहका २३ जना महिलालाई ट्याङ्की वितरण गरिएको छ । ती मध्ये ८ जनालाई १ हजार लिटर र बाँकीलाई ५ सय लिटरको ट्याङ्की वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सुरेन्द्र कार्कीले यो सुरुवात मात्रै भएको बताउँदै प्रदान गरिएका सामाग्रीको उचित सदुपयोग गरे थप सहयोगका कार्यक्रम पनि आउने बताए ।

स्थानीय महिलाहरूले अभावको बेलामा पानी सङ्कलन गर्न ट्याङ्की भएपछि निक्कै सहज हुने बताए । यसले आफूहरूलाई कृषि कर्ममा लाग्न थप उत्साहित गरेको उनीहरूको धारणा छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ९ : ५३ बजे