Logo

राजनीति

कर लिएपछि सुविधा बढाउने नीतिअनुरुप करका दर र दायरा निर्धारण



काठमाडौँ । कर सम्बन्धी शिक्षा र सूचना पाउने करदाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १५ ले कर शिक्षा कार्यक्रम थालेको छ ।

कर तिर्न आउने करदातालाई करमैत्री वातावरण प्रदान गर्ने, जानकारी लिन चाहनेहरुका लागि परामर्श गर्ने र समय समयमा कर तथा राजस्व क्षेत्रका अधिकारी तथा विज्ञसँग अन्तरक्रियात्मक संवाद गरेर वडाले कर शिक्षालाई अगाडि बढाएको हो ।

सोमबार वडामा आयोजना गरिएको कार्यक्रममा बोल्दै महानगरपालिकाको वित्त समितिका संयोजक एवं वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले, कर लिएर सुविधा दिने नीतिअनुरुप करको दर र दायरा निर्धारण गरिएको बताए ।

जापान, सिंगापुरलगायत देशहरुमा स्थानीय सरकारले संकलन गर्ने कर र प्रदान गर्ने सेवा उधृत गर्दै उनले भने,‘सेवा पाए र कर रकमको सदुपयोग भएको सुनिश्चित भएपछि करदातालाई कर तिर्न करकर गरिरहनु पर्दैन । कर मात्र लिने सेवा नदिने भएपछि मात्र करकर गर्नु पर्ने हो । यसकारण महानगरपालिकाले नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह र सुविधा वितरण गरिरहेको छ ।’

कार्यक्रममा करको सिद्धान्त, यसको प्रचलन, करदाताका दायित्व र अधिकारलगायन विषयमा आन्तरिक राजस्व कार्यालय, कलंकीका प्रमुख कर अधिकृत धनकुमार राई, महानगरपालिकाको राजस्व विभागका प्रमुख दिपक अधिकारी र राजस्व कार्यालयका कर अधिकृत विजयप्रसाद लामिछानेले प्रस्तुतिकरण गरेका थिए ।

प्रस्तुतिपछि आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, कर छुट सुविधा, कर परीक्षण, अग्रिम करकट्टी, मिसम्याच, दर्ता, दर्ता खारेजी र स्थगनलगायत विषयमा छलफल भएको थियो । यस्तै पान नम्बर, व्यक्तिगत पान, व्यवसायिक पान, डब्लु पान (विथ होल्डिङ् पान) र यी नम्बरहरुको प्रयोग सम्बन्धी जानकारी गराइएको थियो ।

कार्यक्रममा व्यक्ति, संघसंस्था तथा व्यवसायिक कारोबार गर्ने व्यवसायीहरुलाई बोलाइएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : २३ बजे