काठमाडौं । आउँदो शनिबार र आइतबार देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत यो कार्यक्रम सञ्चालन हुन लागेको हो।
स्वास्थ्य सेवा विभागका अनुसार ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। साथै, एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि सोही दिन खुवाइनेछ। यस्तै, बालबालिकामा बालभिटा खुवाइने र कुपोषणको परीक्षणसमेत गरिनेछ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।
सरकारले भिटामिन ‘ए’ को कमी रोकथाम तथा उपचारका लागि २०५० सालमा आठ जिल्लाबाट सुरु गरेको यो कार्यक्रम २०५९ सालदेखि देशभर लागू गरिएको हो। त्यस्तै, जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालमा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि देशभर सञ्चालनमा आएको हो भने बालभिटा कार्यक्रम २०६४ सालदेखि सञ्चालन हुँदै आएको छ।
सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ।
प्रतिक्रिया