काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।
जसका कारण हाल सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो भने देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा भने चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानलगायत बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने देशका पहाडी भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया