काठमाडौं । नर्सिङ क्षेत्रमा बढी आकर्षित भइरहेका महिलाहरु अब आइटी क्षेत्रमा सक्रिय हुन थालेका छन् । विश्वविद्यालयमा पढाइ हुने आइटी विषय छात्राहरुको रोजाइमा पनि पर्न थालेको छ ।
डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी(डीयरवाक कलेज)ले विभिन्न २९ कम्पनीको सहभागितामा नेपालकै ठूलो डीयरवक (डीडब्लु) आइटी फेयर २०२५ मा भेला भएका युवतीहरुले आइटी क्षेत्रमा भविश्य राम्रो रहेको सुनाए ।
सिएसआइटीकी विद्यार्थी सदिक्षा घिमिरे आइटी पढिसकेपछि विश्वका जुनसुकै कुनामा गएर पनि काम गर्ने मौका पाइने भएकाले आफूले यही विषय रोजेको बताइन् । ‘म सानैदेखि कम्प्युटरमा खेल्न रुचाउँथे । विस्तारै यही क्षेत्रमा अभ्यस्त हुँदै गएँ । अहिले बुझ्दै जाँदा आफ्नो स्किल भयो भने यही क्षेत्रमार्फत नेपालभित्रै बसेर महिनाको लाखौं कमाउन सकिने रहेछ भन्ने लागिरहेको छ । वास्तवमा टेक्नोलोजीमा धेरै काम गर्ने अवसर मिल्ने रहेछ,’ उनले भनिन् ।
सिएसआइटीकी विद्यार्थी एन्सा भण्डारीले विश्व नै आइटीमा अगाडि बढिरहेको भन्दै आफुले आइटी विषय रोजेको बताइन । ‘मैंले सुरुमा ग्राफिक्स डिजाइनमा ध्यान दिन्थें । धेरै साथीहरुले नर्सिङ पढ्न रुचाउँथे तर मैले आइटी नै रोजें । अहिले सबै क्षेत्रमा महिलाको सहभागिता बढेको छ । महिलाहरु आइटी सेक्टरमा पनि धेरै नै एक्टिभ हुनुुहुन्छ । एआईदेखि सबै टुल्सहरु आइटी क्षेत्रकै प्रयोग भइरहेको छ । त्यसैले आइटी क्षेत्रमा साच्चै सिरियस भएर काम गर्ने हो भने महिनामा लाखौं रुपैंयाँ स्वदेशमै बसेर पनि कमाउन सकिन्छ जस्तो लाग्छ,’ उनले भनिन् ।
सिफलमा रहेको डीयरवाक कलेजकी निर्देशक निजु दाहालले कलेज ग्राजुएटहरु रोजगारीका लागि आइटी पहिलो प्राथमिकता राख्ने गरेको सुनाउछिन् । हुनत आइटी क्षेत्रमा महिला र पुरुष भन्ने हुँदैन तर महिलाहरुको आकर्षण आइटीतिर बढ्दै गएको उनले बताइन् ।
‘आइटी क्षेत्रमा महिलाहरु र पुरुष भन्ने हुँदैन । जसले पनि यो पढ्न सक्छ । इच्छा चाहीं हुनुपर्यो । तर पहिले देखि नै पुरुषहरुले बढी आइटी अर्थात इन्जिनियरिङ सेक्टर रोज्ने गरेको पाइन्छ । महिलाहरु पढ्नै सक्दैन भन्ने भाष्य थियो । तर यो अहिले आएर परिवर्तन हुँदैछ । महिलाहरु पनि जुनसुकै क्षेत्रमा अगाडि बढ्न सक्छन् । आइटी कम्पनीहरुले पनि महिला कर्मचारीहरुलाई बढाउनका लागि धेरै कार्यक्रमहरु गरिरहनुभएको छ,’ उनले भनिन् ।
काठमाडौंको सिफलमा रहेको डीयरवाक कलेजले आइटी अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको आइटी फेयरमा पनि महिलाहरुको सहभागिता उल्लेख्य थियो । फेयरमा आइटी पढेर रोजगारीको खोजीमा रहेकादेखि पढ्दै गरेका विद्यार्थीसम्म सहभागी भए । आकांक्षा धामी/नेपाल न्यूज बैंक
प्रतिक्रिया