पोखरा । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको जीवनकथामा तयार भएको फिल्म ‘एन्जिला’ प्रर्दशनको तयारीमा छ ।
फिल्मका निर्देशक मिलन चाम्सले एन्जिलाले जीवनकालमा देखे भोगेका घटनालाई फिल्मका समावेश गरेको बताएका छन् ।
मंगलबार पोखरेली पत्रकार माझ कुरा गर्दै चाम्सले फिल्ममा ९० प्रतिशत कथा एन्जिलाको जीवनको रहेको प्रस्टाए । ‘फिल्ममा उनको कथा बाधेर आम दर्शकलाई बुझाउन खोजिएको छ । पाँच वर्षको अध्ययन पछि मात्र उनको वायोपिक तयार भएको हो,’ उनले भने ।
नेपालमा ‘वायोपिक’ फिल्महरु निकै कम बन्ने गरेको उनले सुनाए । ‘नेपालका केही मात्रामा यस्ता फिल्म बनाउन कोसिस भएका छन् । वायोपिकको लागि लगानी गर्न खोजिदैन् । वायोपिक फिल्म बनाउनु निकै चुनौति छ । यो फिल्म चल्न जरुरी छ । तब मात्र अन्य व्यक्तिको थुप्रै वायोपिक फिल्म बन्नेछन्,’ उनले भने ।
फिल्म समाजको ऐना भएकोले व्यवसायिक फिल्म भन्दा पनि यस्ता व्यक्तिका फिल्म बनाउनुपर्ने उनले सुनाए । चाम्सले यसअघि ‘ब्याइन्ड रक्स र वोवी’ नामक दुई वायोपिक फिल्म निर्देशन गरिसकेका छन् ।
एन्जिलामा फिल्ममा अभिनय गरेका माओत्से गुरुङले फिल्ममा कर्तव्य पूरा गर्न नसक्ने बाबाको भूमिका निभाएको बताए । फिल्म यही फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ ।
पाँचथर जिल्लामा जन्मिएकी अन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेकी हुन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् ।
प्रतिक्रिया