जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सुशासन बिना दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने भएकाले प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार जनकपुरधाममा सम्पन्न राष्ट्रिय सदाचार नीति, दिगो विकास र सङ्कल्प प्रस्ताव सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उनले मुलुकमा नै प्रभावकारी नीति कार्यान्वयन गर्न सके विदेशिने युवालाई स्वदेशमै समेटेर समृद्धि हासिल गर्न सकिने बताए ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकार सुशासन र दिगो विकासमा केन्द्रित रहे पनि आफ्नै प्रहरी, निर्णय तहका निजामती कर्मचारी तथा पर्याप्त बजेटको अभावमा चुनौती सामना गरिरहेको पनि बताए ।
राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले सुशासनको अभावमा कुनै पनि लक्ष्य पूरा गर्न कठिन हुने बताउँदै प्रदेश स्तरमा कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।
त्यसैगरी, सोही समितिका सदस्य डा. अन्जान शाक्यले संघ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । मधेश प्रदेश सरकारका अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले प्रदेशको बजेट दिगो विकासका लक्ष्य पूरा गर्न लक्षित गरी परिचालन भइरहेको दाबी गरे ।
प्रतिक्रिया