चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको कातामा नेपाल प्रहरीले ३ स्वर्ण जितेको छ । हिजो शुक्रबार भएको चार वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा प्रहरीले ४ स्वर्ण हात पार्यो ।
सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरूष एकल कातामा नेपाल प्रहरीका सोनिम मानन्धरले स्वर्ण जिते । उनले फाइनलमा त्रिभुवन आर्मी क्लबका विनय लिम्बुलाई हराए । स्वर्ण जित्ने क्रममा सोनिमले ४५ दशमलव ३ स्कोर गरे ।
विनयले ४१ दशमलव ९ स्कोर मात्र गरे । गण्डकीका वसन्त परियार र नेपाल एपिएफ क्लबका मनुष कार्कीले कास्य पदक हात पारे ।
महिला एकल कातामा आर्मीकी सानुमाया थिङ्ग पहिलो भइन् । उनले आफ्नै बहिनी एलिना थिङ्गलाई हराउँदै स्वर्ण जितिन् । उनले ४१ दशमलव ८ स्कोर जोडिन् । बागमतीकी एलिनाले ४० दशमलव ६ स्कोरमा दोस्रो स्थानमा चित बुझाइन् ।
कातामा नेपाल प्रहरीको वर्चस्व रहँदा पुरूष र महिला दुवै टिम कातामा स्वरण पदक प्राप्त गर्यो । पुरूष टिम कातामा नेपाल प्रहरीका सोनिम मानन्धर, फुर्तेन तामाङ र जगत सिंह धानुकले ४२ दशमलव २ स्कोरका साथ स्वर्ण जिते । बागमतीका अमृत थोकर, राज कुमार श्रेष्ठ र प्रनिल मानन्धरले ४० दशमलव ९ स्कोर बनाएर रजत हात पारे ।
महिला टिम कातामा नेपाल प्रहरीका तपी थापा, मेगा लिम्बु र एलिदा रासकोटीले ४१ दशमलव ६ स्कोरमा स्वर्ण जिते। एपिएफका सोनाम शेर्पा, बन्दना तामाङ र सान्सु देशारले ३९ दशमलव ८ स्कोरमा रजत हात पारे ।
कुमुतेतर्फ पुरूष ५५ केजी तौल समुहमा नेपाल प्रहरीका इलोन श्रेष्ठले स्वर्ण जिते। उनले फाइनलमा एपिएफका यम बहादुर समाललाई ९–१ को सहज नतिजामा हराए। आज कुमुतेमा एक बाउट मात्र भएको थियो ।
नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरद्वारा आयोजित प्रतियोगिता तीन दिनसम्म सन्चालन हुनेछ । प्रतियोगितामा महिला र पुरुषमा गरि कुल १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सात वटै प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुले सहभागिता रहने आयोजकले जनाएको छ ।
कुमुतेमा महिलातर्फ ४५, ५०,५५,६१,६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ ।
यो प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने नेपाल कराते महासंघले बताइसकेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया