रूपन्देही । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी सक्षम रहेको बताएका छन् । नेपाली कांग्रेस रूपन्देहीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक परिवर्तसँगै आर्थिक समृद्धिको नेतृत्व गर्न पनि कांग्रेसले क्षमता राख्ने उनको भनाई थियो ।
जसरी राजनीतिक अधिकार गुमेको बेलामा कांग्रेसले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन पोलिटिकल लिडरसिप लियो, आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी नै सक्षम छ,’उनले भने, ‘तर त्यसका लागि कांग्रेस सांगठनिक रूपमा सशक्त र व्यवस्थित बनाउनुपर्छ । जनताले चाहेको जीवन र जिविकोपार्जन सहज होस् भन्ने सपना कांग्रेसलाई व्यवस्थित गर्यौं भने पूरा गर्ने क्षमता कांग्रेसले राख्छ ।’
कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले कांग्रेसभित्र लोकतान्त्रिक राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए । उनले कांग्रेस कार्यकर्ताको मनोबल उठाउनुपर्नेमा जोड दिँदै पार्टीका कारण भएका उपलब्धीबारे नागरिकलाई जानकारी गराउनका लागि पनि स्थानीय पार्टी नेतृत्वलाई आग्रह गरे । सिंहले रूपन्देहीमा रहँदा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित योजनाहरूको अवलोकन गर्नेछन् ।
प्रतिक्रिया