Logo

खेलकुद

‘महिला क्रिओ फेस्टिबल २०२४’ आजबाट सुरु



मकवानपुर । मकवानपुरमा क्रिकेट महिलालाई आकर्षण गर्नका लागि मकवानपुरमा ‘महिला क्रिओ फेस्टिबल २०२४’ आजबाट सुरु भएको छ ।

पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको खेल क्रिकेटमा महिलालाई आकर्षण र प्रोत्साहन गर्ने उद्देश्यका साथ मकवानपुर जिल्ला क्रिकेट सङ्घले फेस्टिबल आयोजना गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को महिलालाई क्रिकेट खेलमा प्रोत्साहन गर्ने योजना अन्तर्गत मकवानपुर जिल्ला क्रिकेट सङ्घले दुई दिने फेस्टिबल आयोजना गरेको संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिएका छन् । 

नेपालमा क्रिकेटको मोह बढ्दै गएको अवस्थामा विद्यार्थी समयदेखि नै खेलप्रति आर्कषण गर्नका निम्ति फेस्टिबलको आयोजना गरिएको उनले बताए ।

दुई दिनसम्म सञ्चालन हुने फेस्टिबलमा क्रिकेट क्षेत्रमा छात्राहरूको चाहना बढाउने, खेलबारे जानकारी दिने र आवश्यक प्रशिक्षणसमेत गराउने कार्यक्रम रहेको बानियाँले बताए ।

हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको दुईदिने फेस्टिबलमा उपमहानगरका ७ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ८ वटा विद्यालयको टिम सहभागी रहेको महिला क्रिकेट फेस्टिबलका कार्यक्रम संयोजक प्रेम क्षेत्रीले बताए ।

फेस्टिबलमा सामुदायिक र संस्थागत दुवै विद्यालयको सहभागितामा रहेको र सहभागी विद्यालयको टिमबीच हेटौँडा–४ स्थित हुप्रचौरमा ६ ओभरको खेल हुने उनले जानकारी दिएका छन् । फेस्टिबलको आयोजनाले भोलिका दिनमा क्रिकेट क्षेत्रमा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वाससमेत लिइएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १ : ४२ बजे