काठमाडौं। विश्वव्यापी रूपमा मान्यता प्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिक रूपमा सुरु भएको छ। काठमाडौंमा आज आयोजित सेमिनारमा शिक्षक र शिक्षाविद्हरु उपस्थित भई कुमोन विधिले नेपाली शिक्षा प्रणालीमा ल्याउन सक्ने प्रभावबारे छलफल गरेका छन्।
कार्यक्रमले विद्यार्थीहरूको मानसिक विकास, आईक्यू स्तरको वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ। सेमिनारमा ४० भन्दा बढी निजी विद्यालयका प्रिन्सिपलहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटनमा जापानस्थित एनपीओ कलरबाथका अध्यक्ष श्री योशिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरुको महत्त्वमा जोड दिनुभएको थियो। कुमोन मुख्यालयकी प्रतिनिधि सुश्री मित्सुको शिमाजोइले कुमोन विधिको विश्वव्यापी सफलताबारे जानकारी दिँदै भने, “कुमोन विधि ६५ देशका २३,७०० केन्द्रहरूमा चलिरहेको छ र ४० लाख विद्यार्थीहरूले यसलाई अपनाएका छन्।”
कुमोन आईजीसी नेपालका अध्यक्ष गणेश मान लामाले कुमोन विधिलाई विद्यार्थीको मानसिक प्रशिक्षण केन्द्रित कार्यक्रमको रूपमा प्रस्तुत गर्दै यसले शैक्षिक विधि र शिक्षक प्रशिक्षणलाई प्रतिस्थापन गर्ने बताउनुभयो। उहाँले कुमोन विधिले विद्यार्थीहरूको मस्तिष्कलाई कुशलतापूर्वक प्रयोग गर्न सक्षम बनाउने दाबी गरे।
कार्यक्रममा एलआरआई स्कूलकी संस्थापक ट्रस्टी डा. यशोधरा पन्त र युनाइटेड एकेडेमीका प्रिन्सिपल मनोज विश्वकर्माले कुमोन कार्यक्रम अपनाएपछि आफ्ना विद्यार्थीहरूको शैक्षिक क्षमतामा देखिएका सकारात्मक परिवर्तनहरूको अनुभव साट्नु भएको थियो ।
कार्यक्रमको समापनमा कुमोन विधिलाई नेपालका विद्यालयहरूमा अपनाउन आह्वान गरिएको छ, जसले शिक्षा प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउन र विद्यार्थीहरूको पूर्ण सम्भावना विकास गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया