नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई आफ्नो जन्म मिति झुट्टा विवरण दिएर कूटनीतिक तथा विशेष राहदानी प्राप्त गर्ने आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ। सिलवालले नागरिकता, राहदानी र नेपाल बीमा प्राधिकरणको अध्यक्षको पदमा अनधिकृत रूपले लाभ प्राप्त गरेको आरोप छ।
अनुसन्धानका क्रममा, सिलवालले आफ्नो जन्म मिति बारम्बार संशोधन गरी आफूलाई कम उमेर देखाएको प्रमाणित भएको छ। जिल्ला प्रशासन कार्यालय, पर्सा र काठमाडौंबाट प्राप्त नागरिकता प्रमाणपत्रका आधारमा उनका जन्म मितिहरूमा विसंगति पाइएको हो। यसका साथै, त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र अन्य सरकारी कागजातहरूमा समेत उनका जन्म मितिहरूमा फरक देखिएको छ।
आरोप अनुसार, उनले आफ्नो जन्म मिति झुटो विवरण दिनुका साथै नेपाल सरकारसँग कूटनीतिक र विशेष राहदानी प्राप्त गरेका छन्। जसबाट उनले राष्ट्रसेवकको हैसियतमा लाभ उठाएका छन्। यसबाहेक, नेपाल बीमा प्राधिकरणको अध्यक्षको रूपमा ६५ वर्ष उमेर पुरा भएपनि अनिवार्य अवकाशमा जान नचाहेको र पदमा कायम रहेर कार्य गरेको पुष्टि भएको छ।
सिलवालले यसअघि पनि निजामती सेवामा आफ्नो जन्म मिति झुटो प्रस्तुत गर्दै विशेष अधिकार प्राप्त गरेका थिए। यस घटनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १६ उल्लंघन गरेको दाबी गरिएको छ।
नेपाल सरकार, अर्थ मन्त्रालय, र अन्य सरकारी निकायका कागजातहरूले सिलवालको कार्यशैलीको गम्भीरता पुष्टि गरेको छ। यस प्रकरणमा भ्रष्टाचार निवारण ऐन अनुसार थप कारवाही हुने अपेक्षासमेत छ।
प्रतिक्रिया